काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान संविधानलाई असफल पार्ने छुट कसैलाई नभएको टिप्पणी गरेका छन् ।

बिहीबार भक्तपुरको बोडेमा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले विगतका संविधान असफल भए पनि यो संविधानलाई असफल पार्ने छुट कसैलाई नभएको बताए ।
गृहमन्त्री लेखकले भने, “हाम्रो देशमा ७० वर्षको अन्तरालमा सात वटा संविधान जारी भए। यसअघिका छ वटा संविधान असफल हुँदा त्यो समयमा देश कति राजनीतिक अस्थिरतामा गुज्रिएछ भन्ने प्रमाण पनि हो। राजनीतिक स्थिरताका लागि पनि संविधान असफल पार्न हुँदैन।”
संविधान चलायमान र जीवन्त दस्तावेज भएको चर्चा गर्दै उनले समय र आवश्यकताअनुसार संशोधन गरेर जानुपर्ने बताए ।