वासिङटन डिसी । अमेरिकी संघीय सरकारी कर्मचारीहरूलाई शनिबार दिउँसो एउटा इमेल आयो। इमेलको विषयमा ‘तपाईंले गत हप्ता के गर्नुभयो?’ लेखिएको थियो।

उक्त इमेलमा ‘गत हप्तामा तपाईंले पूरा गर्नुभएका कामहरूको सूची बनाउनुहोस् वा राजीनामा दिनुहोस्’ लेखिएको थियो।
अर्बपति उद्यमी एलोन मस्कले यसअघि नै समाजिक सञ्जाल एक्समा एउटा पोस्ट गरेका थिए। यसमा उनले, ‘कर्मचारीहरूले चाँडै नै एउटा इमेल प्राप्त गर्नेछन्। जसको उद्देश्य गत हप्तामा उनीहरूले कुन-कुन काम पूरा गरे भनेर जान्नु रहेको हुनेछ’ भनेका थिए।
यदि कर्मचारी उक्त इमेलको जवाफ दिन असफल भए त्यसलाई राजीनामा मानिने जनाइएका थिए।
एलोन मस्क अमेरिकामा सरकारी दक्षता विभागको नेतृत्व गरिरहेका छन्। यस विभागको उद्देश्य अमेरिकी सरकारको खर्च घटाउनु हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्सलाई सम्बोधन गरेपछि कर्मचारीहरूले यो इमेल प्राप्त गरेका हुन्।