काठमाण्डौं । सिरहाको नवराजपुर गाउँपालिका-१, भगवतिपुर निवासी रिंकु सदाको मृत्यु प्रकरणमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

बलात्कारको घटना मिलाउन संलग्न आठ जनालाई नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले जानकारी दिए। “आठ जनालाई नियन्त्रणमा लिएका छौं, उनीहरूसँग सोधपुछ भइरहेको छ,” उनले भने।

रिंकुले माघ २७ गते तीन युवकबाट बलात्कार भएको बताएकी थिइन्। घटनापछि पञ्चायत बसेर मिलापत्र गरिएको थियो। पञ्चायतले बलात्कारका आरोपित रूपेश मण्डललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय गरेको थियो। तर माघ ३० गते रिंकु आफ्नै घरमा मृत फेला परेकी थिइन्। परिवारजनले उनको हत्या भएको दाबी गरेका छन्।

रिंकुकी आमा सीतादेवी सदाले फागुन ८ गते इलाका प्रहरी कार्यालय, लहानमा पूरक जाहेरी दिएकी थिइन्। जाहेरीमा रूपेश मण्डल, चन्दन साह, रामविनय मण्डल, नठुनी साह, रामपुकार मण्डल, रामकृपाल मण्डल, रामप्रीत साह, र विन्देश्वर साहलाई विपक्षी बनाइएको छ।

हाल प्रहरीले बलात्कारको घटना मिलाउन संलग्न आठ जनालाई पक्राउ गरेको छ, तर बलात्कारको आरोप लागेका रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डल अझै फरार छन्।

पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र जबर्जस्ती करणीका आरोपितहरू फरार भएकाले घटनाबारे थप निर्णय लिन नसकिएको एसएसपी कोइरालाले जानकारी दिए । “पोस्टमार्टमको रिपोर्ट र भेजाइनस स्वाब परीक्षणको नतिजा आएपछि घटनाबारे थप स्पष्ट हुनेछ,” उनले भने।

प्रतिक्रिया!!

सम्बन्धित खबर