काठमाडौं । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मिर्चैया नगरपालिका र आसपासको क्षेत्र दिउँसै अँध्यारोमा परिणत भएको बताएका छन् ।

मिर्चैयामा रहेको सौर्य सिमेन्ट र गोलबजारमा पर्ने मारुती सिमेन्टको धुँलो र धुँवाले घरबाट निस्किएका आफन्तहरु नै एकअर्कालाई चिन्ने अवस्था नभएको महतोको भनाई छ । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतोले प्रदुषणको कारण सो क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको टिप्पणी गरे ।
त्यही प्रदुषणको कारण कतिपयले ज्यानसमेत गुमाईसकेको महतोको गम्भीर दाबी छ । यी दुई सिमेन्ट उद्योगको कारण सो क्षेत्रका किसानहरु विस्थापित भैसकेको पनि महतोको आरोप छ । आँपको खेतीमा पनि ठूलो समस्या देखिएको भन्दै मिर्चैयाका व्यवसायीहरु पनि निराश बनेको महतोको भनाई छ ।
मारुती सिमेन्ट र सौर्य सिमेन्टका प्रतिनिधिलाई प्रदुषण नियन्त्रणको लागि पटक पटक ताकेदा गर्दापनि कुनै पनि सुनुवाई नभएकोमा भने आक्रोश पोखे । महेन्द्र राजमार्गको स्तरोन्नतीको काममा ढिलासुस्ती भैरहेको र दैनिक सडक दुर्घटनाको कारण मानिसले मृत्युवरण गर्नुपरेको कहालीलाग्दो अवस्थापनि महतोे चित्रण गरे । सो क्रममा मिर्चैयाका ख्याँतिप्राप्त व्यवसायी अजबलाल सुँडीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।