वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा आफूले घोषणा गरेको कर योजना अनुसार अघि बढिरहेको बताएका छन् । उनले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँगको भेटपछि पत्रकारलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीसमेत प्रतिद्वन्द्वीलाई चर्को करको चेतावनी दिइरहेका बेला उनी र म्याक्रोँबीच युक्रेनको द्वन्द्वमा केन्द्रित वार्ता भएको हो ।
पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति ट्रम्पले अवैध आप्रवासन र घातक फेन्टानिलको प्रवाहको कारण देखाउँदै क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेका थिए । वार्ता जारी रहेकै बेला उनले अन्तिम समयमा एक महिनाका लागि कर वृद्धि स्थगन गरिएको घोषणा गरेका थिए ।
यो विराम अर्को मंगलबार समाप्त हुनेछ, र सबैको नजर उत्तर अमेरिकी छिमेकीहरूले उनीहरुको कार्यान्वयन रोक्नका लागि सम्झौतामा आउन सक्छन् कि सक्दैनन् भन्नेमा छ ।
कर वृद्धिले अटो उत्पादनजस्ता प्रमुख क्षेत्रहरूमा आपूर्ति श्रृंखलालाई कमजोर पार्नेछ । ट्रम्पले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘करहरू निर्धारित समयमा नै लागु हुने गरी प्रक्रियाहरू अघि बढिरहेका छन् ।’