काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा फरार भएका नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई पक्राउ गरेको छ ।

उनी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएको सीआईबीले जनाएको छ । ६५ वर्षीय उप्रेतीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।
सो क्रममा उनीविरुद्ध दायर मुद्दामा सर्वोच्चले गत मंसिर १२ गते २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो । तर उनी त्यसपछि फरार रहेकोमा आइतबार काठमाडौंको वनस्थलीबाट पक्राउ परेको सीआईबीले जनाएको छ ।
उनलाई आज फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको र अदालतबाट डिल्लीबजार कारागारमा चलान भएको सीआईबीले जनाएको छ । पक्राउ परेका उप्रेती चितवनको खैरहनी घर भएर हाल काठमाडौं महानगरपालिका– १६ बनस्थली बस्दै आएका थिए ।







