सिरहा । लागुऔषध कारोबारी र प्रयोग नियन्त्रण अभियानबारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारको सन्युक्त टोलिले ३ दिनको अवधिमा विभिन्न स्थानबाट लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँच युवा र एक नाबालक रहेका छन्। उनीहरूबाट खैरो हिरोइन, गाँजा सेवनका उपकरण र धारिलो हतियारसमेत बरामद गरिएको छ।

गोलबजार नगरपालिका–४ क्याम्पस रोडस्थित क्याम्पस चौक नजिकै शंकास्पद रूपमा हिँडिरहेका सिरहा, अर्नामा गाउँपालिका–३ का २० वर्षीय राकेश कुमार महतोको शरीर तलासी गर्दा दाहिने हातमा दुई वटा स-साना प्लास्टिकका पोकामा खैरो हिरोइन जस्तो देखिने लागुऔषध पदार्थ फेला परेको प्रहरीले जनाएको छ। ती पोकाको तौल ४४० मिलिग्राम लागुऔषध फेला परेको छ ।
यसैगरी गोलबजार–४ क्याम्पस चौकस्थित एक घरमा गोप्य सूचनाका आधारमा छापा मार्दा लागुऔषधसहित तीन युवा पक्राउ परेका छन्।जिल्ला सिरहा, अर्नामा गा.पा.–३ का २० वर्षीय अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका–८ कसहा निवासी २२ वर्षीय सन्तोष कुमार महतो, र औरही गाउँपालिका–१ का १८ वर्षीय प्रदीप कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूको कोठामा राखिएको सेतो बोरा खोलेर जाँच गर्दा दुई वटा कालो प्लास्टिकका पोकामा खैरो हिरोइन जस्तो पदार्थ भेटिएको थियो। उक्त लागुऔषधको तौल ०.९७० मिलिग्राम रहेको थियो। साथै, सोही कोठाबाट धारिलो चक्कु र गाँजा सेवनमा प्रयोग हुने वाटर गञ्जसमेत बरामद गरिएको छ।
त्यस्तै,गोलबजार–५ मा लागुऔषध बिक्री भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले डम्बर बहादुर मगरको खेतमा बसिरहेका दुई जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा गोलबजार–५ निवासी २२ वर्षीय दिपेन कुमार साह र एक नाबालक रहेका छन्। दिपेनको साथबाट १ ग्राम ८६० मिलिग्राम खैरो हिरोइन फेला परेको छ।
उनीहरूले सो लागुऔषध बिमल कुमार महतोबाट बिक्रीका लागि पाएको स्वीकारेपछि प्रहरीले बिमलको घरमा खानतलासी गरेको थियो। जुत्ता–चप्पल राख्ने दराजबाट कालो झोलाभित्र लुकाइ राखिएको तीन वटा पहेँलो प्लास्टिकका पोका फेला परेका थिए, जसमा ४०० मिलिग्राम लागुऔषध भेटिएको थियो।बिमलसहित तीनैजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले लागुऔषध कारोबारी तथा प्रयोगमा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी राख्दै छापा, गस्ती र अनुगमन तीव्र पारेको जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी उपरीक्षक ( डीएसपी ) एवंम प्रवक्ता बिरेन्द्र कुमार पासवानले जानकारी दिनु भयो ।