लहान । सिरहाको नवराजपुर गाउँपालिका-४, कुसण्डी जाने बाटोमा लागूऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

सिमा प्रहरी चौकी झाझपट्टीबाट प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोली, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी सहायक निरीक्षक र गोलबजारबाट लागुऔषध ब्यूरो बाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR 32 M 7338 नम्बरको मोटरसाइकललाई रोक्ने प्रयास गर्दा चालकले नरोकी भागेका थिए।
सो मोटरसाइकललाई नियन्त्रणमा लिन Type 77 पेस्तोलबाट एक राउन्ड गोली फायर गरिएको थियो। त्यसपछि मोटरसाइकललाई नियन्त्रणमा लिइएको थियो।
मोटरसाइकल चालक भारत मधुबनी ग्राम पञ्चायत वीरपुर वडा नम्बर ९ बस्ने जनक पासवानका छोरा करिब ३८ वर्षीय श्याम सुन्दर पासवानलाई चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित ५०.३७ मिलिग्राम खैरो हिरोइन (लागूऔषध) बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डीएसपी विरेन्द्र कुमार पासवानले जानकारी दिए ।
प्रहरीले श्याम सुन्दर पासवानलाई मोटरसाइकल र लागूऔषधसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सिमा प्रहरी चौकी झाझपट्टीमा राखेको छ।







