सिरहा । गत आर्थिक वर्ष २०८१/८२ मा कार्यसम्पादन मूल्याङ्कनमा मधेस प्रदेशका आठ जिल्ला प्रहरी कार्यालयमध्ये पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट भएको छ ।

मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले गत आवमा भएको कार्यसम्पादन सम्झौताबमोजिम जिल्ला प्रहरी कार्यालय पर्सा कार्य सम्पादन सम्झौताबमोजिम सर्वोत्कृष्ट जिल्ला भएको जानकारी दिए ।

‘मधेस प्रदेश प्रहरी मातहतका कार्यालय प्रमुखहरुबीच भर्चुअल माध्यमबाट गत आवको वार्षिक कार्यसम्पादन सम्झौता अनुसार कार्य प्रगति विवरणको समीक्षा गरिएको थियो, उनले भने सो समीक्षामा कार्यसम्पादन सम्झौताबमोजिम पर्सा जिल्ला सर्वोकृष्ट भएको छ ।’ मधेस प्रदेश प्रहरी प्रमुख चतुर्वेदीले अन्य मातहत कार्यालयलाई समेत वार्षिक कार्यसम्पादन सम्झौताबमोजिम आफ्नो लक्ष्यअनुसार पूरा गर्नुपर्ने कार्यहरुमा गम्भीरतापूर्वक काम गर्न निर्देशन दिए ।

४० बुँदामा केन्द्रित कार्यसम्पादनलाई आधार बनाएर गरिएको मूल्याङ्कनमा पर्सा प्रहरी ९०।१९ प्रतिशत अङ्कको साथमा सर्वोत्कृष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा गत आवमा करिब रु ६० करोड मूल्यका भन्सार छली तथा बिलबिजक नभएका सामान बरामद गरिएको जनाइएको छ ।

मिश्रले सङ्गठनको टिमवर्कका कारण यो सफलता हात पार्न सकेको बताए । प्रमुख मिश्रले पर्साको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै भन्सार छली तथा तस्करी नियन्त्रण, फरार प्रतिवादी र मानव बेचबिखन ओसारपसार जस्ता अभियान सञ्चालन गर्दै आइरहेको जानकारी दिए । ‘गत आवभरिमा विभिन्न अदालतबाट भएका फैसलाको फरार भएका एक हजार ५११ जनालाई पक्राउ गरेर फैसला कार्यान्वयन गरिएको छ, उनले भने , पक्राउ परेका फरार प्रतिवादीको ७३ वर्ष दुई महिना कैद तथा रु तीन करोड ५५ लाख १२ हजार ९५६ जरिवाना समेत असुलउपर गरेका छौँ ।’

प्रतिक्रिया!!

सम्बन्धित खबर