काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा ल्याएर विवादमा पार्नु नहुने स्पष्ट पारेको छ ।

साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णयलाई थप ब्याख्या गर्दै अपानिमा प्रथम राष्ट्रपति रामवरण यादवको भूमिका स्मरण गर्दै सो कुरा स्पष्ट पारेको हो ।

भण्डारी सक्रिय राजनीतिमा फर्कंदा उनले विगतमा गरेका काम पनि विवादमा पर्न सक्ने भएकोले सम्मानित रूपमा नै बस्नु उचित हुने एमालेको ठहर छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले १२औं अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै भण्डारीका विषयमा थप विवाद र बहस नगर्न निर्देशन पनि दिए । अपानिमा सिंगो राष्ट्रको नेता भएको व्यक्तिलाई एमालेले कार्यकर्ता बनाउन नहुने उल्लेख छ ।

‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नु पर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न । सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा ९एमाले०ले कार्यकर्ता बनाउनु हुँदैन । अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनु हुँदैन । पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो,’ अपानिमा भनिएको छ, ‘उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । विधानको धारा ८ अनुसार हुन्छ ।’

प्रतिक्रिया!!

सम्बन्धित खबर