हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पूर्वसहमति पालना नगरेको भन्दै निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्ष असन्तुष्ट बनेको छ ।कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँ नियुक्त भएर शपथ पनि लिइसकेका छन् ।बानियाँले शपथलगत्तै एमालेका ६ र कांग्रेसका दुई जनालाई मन्त्री नियुक्त गरेका थिए । ती मन्त्रीहरूले पनि शपथ लिइसकेका छन् ।

तर, बहादुर पक्षले भने सभापति शेरबहादुर देउवासँग भएको सहमति पालना नभएको भन्दै असन्तुष्ट जनाएको छ । गत १७ साउनमा देउवा निवास बुढानीलकण्ठमा बानियाँ र लामाबीच धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री बनाउनुपर्ने सहमति भएको निवर्तमान मुख्यमन्त्री लामाले अनलाइनखबरलाई बताए ।
बानियाँले आफ्नै दल कांग्रेसबाट धादिङका शिवराज अधिकारी र सिन्धुपाल्चोकका कृष्णकुमार तामाङलाई मन्त्री नियुक्त गरेका थिए । तामाङले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् भने अधिकारीको जिम्मेवारी पछि तोकिने बताइएको छ ।
यसैबीच बानियाँले सुरुवातमै सहमति लत्याएको लामाको दाबी छ ।‘सभापतिज्यूसँग बसेर भएको सहमति पालना भएन । सहमति भएर हामी यहाँ आएको, त्यो भएन । यसको हामी नेतृत्वसँगै कुरा राख्छौं,’ लामाले अनलाइनखबरसँग भने, ‘पहिला पनि संविधानको विरोधमा कुचेष्ट गर्ने काम भयो । यसले एउटा नजिर बस्यो । ईश्वरको नाममा सपथ खाएको छ भने यसो गर्न मिल्दैन । यसलाई हामी मान्दैनौं ।’
लामाले मन्त्री नियुक्तिको विषयमा आज बानियाँसँग आफ्नो छलफल पनि भएको पनि बताए ।उनले आफू आजै काठमाडौं गएर सभापति देउवासँग छलफल गर्ने बताए ।लामाले १४ साउनमा लम्साल, श्रेष्ठ र गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । सोहि दिन बिहान ९ बजे शपथ ग्रहण तय भएपनि रोकिएको थियो ।
१५ साउन १ बजे शपथ ग्रहण तय भएपनि बिहान ५ बजे नै प्रदेश प्रमुख देवकोटा बिरामी भएको भन्दै आकस्मिक काठमाडौं गएका थिए । प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गरेर सपथ अर्काे सूचना नभएसम्मका लागि स्थगित गरेको थियो ।त्यसपछि १७ साउन शनिबार देउवासँगको भेटमा लामा र बानियाँबीच लम्साल, श्रेष्ठ र गुरूङलाई मन्त्री बनाउने सहमति पश्चात लामाले पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका थिए ।उनको राजीनामा हिजो सोमबार प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको थियो ।







