लहान । सिरहाको धनगढीमाई नगरपालिका-११ आमचौकका ८५ वर्षीय फनिलाल यादवको हत्या उनकै घरमा चोरीको क्रममा भएको खुलेको छ । हत्या आरोपमा चोरी गर्न गएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुर टोलका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त कुमार मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) अनन्त राम शर्माले जानकारी दिए ।

एसपी शर्माका अनुसार साउन १४ गते बिहान करिब ६:२० बजे ओछ्यानमा सुतेकै अवस्थामा यादवको टाउको, धारिलो हतियार भेटिएको थियो ।

प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा उनको बिहान ८:२० बजे मृत्यु भएको थियो । नजिकै रहेको घरको सिसीटिभी फुटेजको आधारमा हत्या आरोपीको पहिचान भएको एसपी शर्माले बताए ।

त्यसपछि महेशलाई साउन २७ गते उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साउन १४ गते राति महेश र प्रशान्तले चोरी गर्ने योजना बनाएर मृतकको घरमा प्रवेश गरेका थिए ।

ढोका खुला देखेर भित्र पसेपछि यादवले हो-हल्ला गर्न थालेका थिए। त्यसपछि महेशले साथमा ल्याएको खुकुरीले यादवको टाउकोमा प्रहार गरी दुवैजना फरार भएको अनुसन्धानबाट खुलेको एसपी शर्माले जानकारी दिए ।

घटनामा प्रयोग गरिएको खुकुरी महेशको काकाको भएको र घटनापछि काकाको घरमै लुकाइएको भेटिएपछि प्रहरीले उक्त खुकुरी पनि बरामद गरेको छ।

प्रशान्तलाई यसअघि नै साउन २३ गते अभद्र व्यवहार मुद्दामा पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको थियो।

सिरहा जिल्ला अदालतबाट साउन २८ गतेदेखि ७ दिनको म्याद थप अनुमति लिएर दुवै जनामाथि थप कारबाही तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अनन्तराम शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया!!

सम्बन्धित खबर