भक्तपुर । भक्तपुर जिल्लामा जुवाअखडा खुलेआम रूपमा सञ्चालन हुँदै आएको पाइएको छ। विशेषगरी सूर्यविनायक, जगाती–सांगा क्षेत्र वरपरका होटल तथा कटेजहरूमा जुवातास खेल्ने गतिविधि बढ्दै गएको स्थानीयहरूले बताएका छन्।

स्थानीय स्रोतका अनुसार ती होटल र कटेजहरूमा बाहिरी जिल्लाबाट समेत मानिसहरू भेला भई ठूलो मात्रामा नगदको कारोबारसहित जुवा खेल्ने गरिएको छ। यसका कारण सामाजिक विकृति बढ्नुका साथै शान्ति–सुरक्षामा समेत चुनौती उत्पन्न भएको स्थानीयवासीहरूको गुनासो छ।
चाँगुनारायण नगरपालिका–७ स्थित हेल्मेटडाँडामा जुवाअखडा खुलेआम रूपमा सञ्चालन भइरहेको पाइएको छ। स्थानीय स्रोतका अनुसार लामो समयदेखि उक्त क्षेत्रमा जुवातास खेल्ने समूह सक्रिय रहँदै आएको छ, जसका कारण शान्ति–सुरक्षामा असर परेको स्थानीयवासीहरूले गुनासो गरेका छन्।
ती जुवाअखडाहरूमा प्रहरीका सिभिल पोसाकमा परिचालन भएका घुमुवा कर्मचारीदेखि महानगरीय अपराध महाशाखाबाट भक्तपुर परिसर तथा विभिन्न वृत्तमा खटिएका सिभिल प्रहरीको समेत संरक्षण रहेको भन्ने खुलासा भएको दाबी गरिएको छ। यसले स्थानीयस्तरमा सुरक्षा निकायप्रति गम्भीर प्रश्न उठाएको छ।
पछिल्लो समय भक्तपुरका केही बस्ती, चोक–गल्ली तथा आवासीय क्षेत्र आसपास रातिको समयमा जुवा र सट्टाबाजी खुलेआम सञ्चालन भइरहेको स्थानीयवासीहरूले बताएका छन्। स्थानीयका अनुसार यस्ता अवैध गतिविधि लामो समयदेखि चलिरहे पनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन तथा कारबाही हुन नसकेको गुनासो बढ्दो छ।
थिमी र जगाती वृत्तको मातहत पर्ने क्षेत्रमा ‘चुप्पी’ भनेर चिनिने मनोज शाहीले ठूलो जुवा, विशेषगरी कौडा खेलाउने गरेको खुलासा भएको दाबी गरिएको छ। स्थानीय स्रोतका अनुसार चुप्पी लामो समयदेखि पेशेवर रूपमा जुवा खेलाउने जुवाडेका रूपमा परिचित व्यक्ति हुन्।
उनी यसअघि पनि पटक–पटक जुवा काण्डमा पक्राउ परिसकेका व्यक्ति भएको बताइन्छ। केही महिना अघि भक्तपुर प्रहरीले उनलाई जुवासम्बन्धी मुद्दामा फरार सूचिमा समेत राखेको थियो। त्यसक्रममा पक्राउ परेपछि उनी झण्डै एक महिनासम्म प्रहरी हिरासतमा बसेको जानकारी पनि सार्वजनिक भएको थियो।
हाल भने चुप्पीले थिमी र जगाती क्षेत्र आसपास प्रहरीको संरक्षण तथा सेटिङको आडमा ठूलो मात्रामा जुवा अखडा सञ्चालन गरिरहेको आरोप लागेको छ। उनको जुवा अखडामा काठमाडौँ र ललितपुरबाट समेत पेशेवर जुवाडेहरू नियमित रूपमा आउने गरेको स्थानीयहरूले बताएका छन्।
स्थानीय स्रोतका अनुसार चुप्पीको जुवा अखडामा दैनिक रूपमा पच्चीस लाख रुपैयाँभन्दा बढीको जुवाडे कारोबार हुने गरेको भनाइ छ। यसबारे सम्बन्धित प्रहरी निकाय जानकार हुँदाहुँदै पनि मिलिभगतका कारण प्रभावकारी छापा नपरेको भन्ने गुनासोसमेत उठेको छ।यसैबीच, कहिले नगरकोट, कहिले थिमी त कहिले खरिपाटी क्षेत्रमा समेत अर्को ठूलो जुवा अखडा सञ्चालन हुँदै आएको खुलासा भएको छ।
जुवाअखडामा दैनिक रूपमा विभिन्न स्थानबाट मानिसहरू भेला हुने र ठूलो मात्रामा नगद रकमको कारोबार हुने गरेको बताइएको छ। यस विषयमा प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदै स्थानीयहरूले तत्काल अनुगमन गरी कानुनी कारबाही गर्न माग गरेका छन्।







